जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले कारागारलाई यातना गृह बनाउने कि सुधार गृह भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जसपा प्रमुख सचेतक यादवले कारागारको सुधारमा सरकारको ध्यान नगएको बताए।
'अहिले कारागारको अवस्था यातना गृह जस्तै छ। वीरगञ्जकै कुरा गर्दा कारागारको अवस्था जीर्ण छ। क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएको छ,' उनले भने, 'कैदीबन्दीहरू बिहान ४ बजेदेखि शौचालयमा लाइन बस्छन्। कतिपय अवस्थामा दिसा पिसाब नै कपडामा हुन्छ। वर्षाको समयमा पानी चुहिन्छ।'
प्रहरीको पोष्ट हल्लिएको अवस्थामा रहेको भन्दै उनले जुनसुकै बेला दुर्घटना हुन सक्ने बताए।
राष्ट्रिय सभाका अध्यक्षसहितको टोली चीन भ्रमणमा जाने क्रममा हुम्लाको हिल्सा पुगेको तर सिमानामा नेपाली सुरक्षाकर्मी केही समय मात्र बस्ने जानकारी पाएको बताए।
'हामी हिल्सा पुग्दा चीनतर्फ सेना, प्रहरी छन् तर नेपालतर्फ सुरक्षाकर्मी भेटिएन। त्यहाँ बुझ्दा कहिलेकाहीँ मात्र आउने थाहा पायौं।एकछिनपछि मात्र प्रहरीहरू दौडिएर आएका थिए,' उनले भने, 'सिमानामा २४ सै घण्टा सुरक्षाकर्मी बस्नुपर्छ। तर हामीले किन राख्न सकेनौं? हिमाली क्षेत्रमा न्यानो कपडा समेत दिन नसकेर हो कि भनेर ध्यान दिनुपर्छ।'
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा अझै आशंका रहेको उनले बताए।
'१२ करोड १० लाखमा विमानस्थल बन्दैन। बनाउने हो भने बजेट सुनिश्चित हुनुपर्छ। भटाभट रूख काट्नेतर्फ मात्र ध्यान दिन हुँदैन,' उनले भने, 'मधेसको जंगल फँडानी गरेर बाहिरबाट मान्छे ल्याएर बसाउने काम भइरहेको छ। यो गलत हो। हाम्रो पार्टी सरकारमा छ भन्दैमा सरकारले जे भन्यो हामी त्यसमै ताली बजाउनेवाला छैनौं।'
उनले निजी क्षेत्रलाई हेलिप्याड दिने सरकारको निर्णयको समेत विरोध गरेका छन्।
निजी क्षेत्रलाई हेलिप्याड दिने निर्णय खारेज हुनुपर्ने उनले बताए।
जसपा प्रमुख सचेतक यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरू अझै खुलेआम हिँडिरहेको आरोप लगाए।
'नक्कली भुटानी शरणार्थीको मुद्दामा यो काष्टिङ हो फिल्म देखाउन बाँकी छ भन्नुभएको थियो,' उनले भने, 'त्यो फिल्म कहिले देखाउने हो? त्यसमा संलग्न पात्रहरू खुलेआम हिँडेका छन्। उनीहरूलाई कहिले कारबाही गर्ने हो?'