पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरूरी रहेको बताए।
उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै जनतालाई दलाल पुँजीवादका विरूद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरूलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका विरूद्ध गोलबन्द गराउनुपर्छ। उनीहरूलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ। दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन। दुई जना मन्त्री बनायौं। कार्यनीति रूपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकताबद्ध गर्ने हो।’
उनले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे।
उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए।
उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए। पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरू ल्याउन नसकेको बताए।