कार दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई शनिबार अन्त्येष्टि गरिएको छ।
शनिबार बिहान ११ बझाङको जयपृथ्वी नगरपालिका सदरमुकाम क्षेत्रको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा मन्त्री सिंहको अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टि अघि सिंहको शरिरलाई जिल्ला अस्पतालदेखि चैनपुर बजारमा परिक्रमा गराइएको थियो।
मन्त्री सिंहसंगै उनकी श्रीमती अमृता सिंह र भाउजु जयादेवि सिंहको पनि अन्त्येष्टि गरिएको छ।
मन्त्री सिंहका कान्छा छोरा इराकबाट आउन समय लागेकाले चार दिनपछि अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
मन्त्री सिंहको अन्त्येष्टिमा प्रदेश सरकारले २१ तोपको अन्तिम सलामी दिएको थियो। सिंहको अन्त्येष्टिमा परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री लगायतका सयौंको सहभागिता रहेको थियो।
मंगलबार दिउँसो २ बजे गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा परेर अचेत घाइते भएका मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको थियो।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुर्याइएको थियो। उनको उपचारका क्रममा निधन भयो। घाइते भएका उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई हेलिकोप्टरमै कोहलपुर पुर्याइएको थियो।
अहिले उनीहरू दुवैको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।