पशुपतिमा राखिएको सुनको जलहरीको तौल १०७.४६८ किलोग्राम रहेको खुलेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।
उक्त जलहरी जोख्दा १०७.४६८ किलोग्राम रहेको स्रोतले जानकारी दियो।
पहिला जलहरी र रिङ गरी कुल १०७.७९८ किलोग्राम सुन र अन्य धातु प्रयोग गरिएको थियो।
सुन जोख्नका लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो। नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो।
जलहरी जोखेका बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो।
गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरी जोखेका हुन्।
जलहरी जोख्ने ठाउँमा सिसिटीभी जडानसमेत गरिएको थियो।
पशुपतिमा जलहरी राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो। जलहरी छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो।
जलहरीको कूल तौल ९६ किलो ८ सय २२ ग्राम थियो।
१० किलो ९ सय ७६ ग्रामको रिङ हालिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले रिङ बनाउने काममा प्रयोग भएको सुनको परिमाण पुष्टि हुने विवरण पेश नभएको उल्लेख गरेको थियो।
महालेखा परीक्षकको प्रतिवेदन बाहिरिएपछि गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल (राजन) ले पशुपतिमा जलहरी तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको बेलामा राखिएको बताएका थिए।
‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।
यसरी आरोप लगाएपछि एमालेले संसद अवरोध गरेको थियो। त्यस्तै उक्त अभिव्यक्ति असंसदीय भएको भन्दै रेकर्डबाटै हटाउन लगाइएको थियो।
संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव मिलनकुमार थापाले पनि जलहरीमा कुनै घोटाला नभएको दाबी गरेका थिए। उनले त्यसमा घोटाला भए कारबाही भोग्न पनि तयार रहेको बताएका थिए।
त्यसैबीच अख्तियारको टोली आइतबार पशुपति परिसर पुगेर जलहरी जोखेको हो।
(* यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ।-सम्पादक)