नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले सुनको जलहरीबारे सदन र सञ्चारमाध्यमहरूमा विभिन्न कोणबाट बहस चर्किएको बताउँदै तत्काल सत्यतथ्य जानकारी गराउन आग्रह गरेका हुन्।
‘भएको के हो त्यहाँ ? पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँ सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुन्यौं,’ उनले भने, 'कति सुन हराएको हो, कति सुन बाँकी छ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामाग्री जोख्ने कुरा होइन।’
पशुपतिको जलहरीमा सुन हिनामिना भएको विषयमा चौतर्फी आलोचना भएपछि आइतबार अख्तियारको टोलीले जलहरीको सुन जोखेका थिए।
अख्तियारले अनुसन्धानकै क्रममा रहेकाले त्यसबारेमा केही बताएको छैन।