दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।
मंगलबार दिउँसो वडाध्यक्ष शाहले मेयर नरुलाल चौधरीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएको उपमेयर हुमा डिसीले जानकारी दिएकी छन्।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष शाह नेकपा एमालेबाट निर्वाचित भएका थिए। यहाँका मेयर र उपमेयर पनि एमालेका हुन्।
स्रोतका अनुसार असार १० गतेको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएका हुन्।
आफ्नो वडामा चाहेजति बजेट नदिएको भन्दै उनले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ। वडाध्यक्ष शाहसँग भने सम्पर्क हुन सकेको छैन।
उपमेयर डिसीले भने गत वर्ष पनि शाहले राजीनामा बुझाएको हुँदा यो कुनै नौंलो कुरा नभएको प्रतिक्रिया दिइन्।
‘गत वर्ष पनि उहाँले पदबाट राजीनामा बुझाउनु भएको थियो र पछि आफैं फिर्ता लिनुभयो,’ उनले भनिन्, ‘उहाँ त्यस्तै हो र योपालि पनि राजीनामा दिएपनि क्षणिक आवेग मात्रै हो भन्ने मलाई लाग्छ।’
मेयर नरूलाल चौधरीले केन्द्र सरकारकै बजेट घटेकाले वडाको पनि घट्नु स्वभाविक रहेको बताए।
‘उहाँले जनता समक्ष धेरै वाचाहरू गरेको हुँदा त्यो पुरा हुन नसक्ने अवस्था रहेको भन्दै असुन्तुष्टि जनाउन आउनु भएको थियो,’ उनले भने, ‘देश भरकै बजेट घटेको बेलामा घोराहीको पनि केही मात्रामा घट्नु अन्यथा थिएन।’
वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन।
