हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासलेले गत बिहीबार दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।
‘गत हप्ता दिइएको अल्पकालिन आदेशलाई नै निरन्तरता दिँदै अन्तरिम आदेश जारी भएको हो। अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनू भनिएको छ,’ उनले भनिन्।
अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने विषयमा विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको थियो।
हलवालाहरूको छाता संगठन चलचित्र संघले असार ६ गते उच्च अदालत पाटनमा बालेनविरूद्ध रिट दायर गरेका थिए।
मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।
काठमाडौं महानगरका मेयर बालेन शाहले 'आदिपुरूष' मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ।