प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले शैक्षिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघिका वर्षसम्म विद्यार्थीहरूले समयमा पुस्तक नपाएका समाचारहरू आउने गरेकोमा यसपालि समयअगावै हुम्लादेखि ताप्लेजुङसम्म पाठ्यपुस्तक पुगेको बताएका हुन्।
‘दुर्गम जिल्लाहरूका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरू हुनुअगावै पाठ्यपुस्तक पुगेको समाचार पढ्न पायौं। भर्नाकै दिन कलिला विद्यार्थीहरूले मुस्कुराउँदै किताब समातेका सुन्दर तस्बिरहरू पनि देख्न र पढ्न पायौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्षसम्म विदेश पढ्न जाने विद्यार्थीलाई एनओसी लिन अत्यन्तै यातना भोग्नुपर्ने अवस्था रहेकोमा आफू नेतृत्वको सरकारले यसपालिदेखि त्यस्ता समस्या अन्त्य गरेको बताए।
‘केही वर्षअघिसम्म विद्यार्थीहरू एनओसी लिन भक्तपुरको सानोठिमीमा मध्यरातदेखि कम्बल बोकेर लाइनमा बसेका समाचारहरू आउने गर्थे। विदेशमा पढ्न हिँडेका विद्यार्थीलाई त्यो यातनाले व्यवस्था र अवस्थाप्रति पक्कै पनि वितृष्णा जगाउने गर्दथ्यो,’ उनले भने, ‘अहिले त्यो सर्टिफिकेट आफ्नै मोबाइलमा प्राप्त गर्न सकिन्छ। विद्यार्थीहरूमा नयाँ आशा भरोसा र हौसला बढेको छ।’