प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।
‘अर्थमन्त्रीले भुलवश यस्तो हुन गएको हो, जिल्ला निर्वाचन कार्यालय खारेज हुने छैन भनेर प्रतिवद्धता गर्नुभयो। तर आज यो विनियोजन विधेयक पारित हुन गइरहेको छ। हिजो अर्थमन्त्रीले स्वीकार गरेका विषयलाई विनियोजन विधेयकभित्र राखियोस्,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘होइन भने यसलाई पास गरेर अघि जान सकिँदैन।’
यसपछि बोलेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि जिल्ला निर्वाचन कार्यालयहरू निरन्तर रहने सुनिश्चितता चाहिने बताए।
जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने पक्षमा एमाले र रास्वपाका सांसदहरू छन्।
मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए।
तर यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ। सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइका रूपमा राख्ने प्रस्ताव गरेको थियो।
यो प्रस्तावमा सत्तारूढ नेपाली कांग्रेसकै कतिपय सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा रास्वपाले विरोध गरेपछि सरकार पछि हटेको थियो। सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयको इकाइका रूपमा राख्ने प्रस्ताव गरेलगत्तै सुरूमा कांग्रेस सांसद गगन थापाले विरोध गरेका थिए।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्रीले यसअघि नै बताइसकेको विषय संसदमा राखेका थिए।