प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दिनदुःखी नागरिकहरूलाई तत्कालै सुविधा दिलाउनेगरी लागि परेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोधेको प्रश्नको जवाफमा त्यसो भनेको हुन्।
कुरा उठ्यो, स्वास्थ्य सम्बन्धी पनि भर्खरै अस्पतालमा जनताले प्रत्यक्ष पायो के भनेर। मैले प्रस्तुत गरेको कुरामा सबै चिज ठीकठाक भई नै सक्यो भन्ने अर्थमा बुझ्नु हुँदैन। गर्न अझै धेरै बाँकी छ। भर्खरै वीर अस्पाताले ७०० शय्या गरिबलाई निःशुल्क गर्ने निर्णय भएको छ यो जनताले तत्कालै पाएको कुरा हो,’ उनले भने।
सभापति लामिछानेले प्रधानमन्त्रीले उपलब्धी बताइरहँदा त्यो उपलब्धीले भर्खरै नेपालका अस्पतालहरूमा शैक्षिक संस्थाहरूमा आम नागरिकले के पाइरहेका होलान् भनेर सोधेका थिए।
त्यस्तै लामिछानेले नयाँ पुस्ताले के देखेन भन्नेमा मेरो साथ र समर्थन नै भएको तर, यो पुस्ताले देशका संरचनाहरू ननासिकन, हत्या हिंसा अंगभंग नभइकन, मानिसहरू नहराइकन शान्तिपूर्ण ढंगले पनि परिवर्तन हुन सक्ने कुरा पनि देख्यो भनेर थपिदिन आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले नदेखेरै भएको फाइदा जोड्नु उचितै हुने बताए।
प्रधानमन्त्रीले सरकारको ६ महिनाको उपलब्धी सुनाउँदा अहिले भोट हाल्ने नयाँ पुस्ताले लोकतन्त्रपूर्वको अवस्था नदेखेको बताएका थिए।
‘यो सत्य हो, लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन, त्यसलाई तथ्यात्मक आधार चाहिन्छ। मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन। बिहान एक गाग्री पानीका लागि तीन घन्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन चार घन्टा पैदल हिड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन। सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन,’ उनले भनेका थिए।
त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैं भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको प्रचण्डले बताएका थिए।
२० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको प्रधानमन्त्रीको टिप्पणी थियो।
‘सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ,’ उनले सम्बोधनका क्रममा भनेका थिए।