उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
अदालतको अवहेलना मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मन्त्री राजभण्डारीविरूद्ध अदालतको अपहेलना गरेको मुद्दामा असार २० गते दिनको ११ बजे अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
मंगलबार अधिवक्त उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले उच्च अदालत विराटनगरमा अवहेलना मुद्दामा रिट दायर गरेका थिए। न्यायाधीशद्वय थारू र गुप्ताको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी पहिलो नम्बरमा तोकिएको थियो।
निवेदक उच्च अदालतका रजिष्टार जितेन्द्रबाबु थपलियाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हेमराज पराजुली, डिल्लीबहादुर कार्की, हेमराज पन्त, अधिवक्ताहरू शिवप्रसाद आचार्य, देवेन्द्र कोइराला र विश्वराम भट्टराईले बहस गरेका थिए।
न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएपछि राजभण्डारीविरूद्ध उच्च अदालतमा रिट दर्ता भएको हो।
गत असार १० गते विराटनगरस्थित शिक्षा दीप कलेजको एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए। उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए।
अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ।