नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला गर्ने भएको छ।
यही असार २० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको भेला हुने तय भएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले कार्यक्रमबारे जिल्ला सभापतिहरूलाई खबर गर्ने तयारी भइरहेको जानकारी दिए।
संगठनका कामकारबाहीलगायत विभिन्न विषयबारे कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको हो।
महामन्त्री गगन थापाका अनुसार जिल्ला सभापतिहरूलाई असार २० गते केन्द्रीय कार्यालयमा आमन्त्रण गर्ने तयारी छ।
‘क्रियाशील सदस्यता वितरण सुरू गरिसकियो। नयाँ सदस्यता वितरणका काम पनि भइरहेका छन्,’ थापाले भने, ‘सदस्यतालगायत विभिन्न विषयमा जिल्ला सभापतिहरूसँग कुराकानी हुन्छ।’
उनले क्रियाशील सदस्यतासम्बन्धी कार्ड अब जिल्ला सभापतिहरूले जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने पनि बताए।
कांग्रेसले २० रुपैयाँ बुझाएर अनलाइनबाटै साधारण सदस्य लिन सक्ने व्यवस्था गरिसकेको छ।