पाँच दिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्।
श्रेष्ठ पाँच दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन्।
त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले चीन भ्रमण फलदायी भएको बताए।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्वीपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको श्रेष्ठले बताए।
चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको उनले बताए।
चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको श्रेष्ठले बताए।
उनले व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताए। श्रेष्ठले चीन सरकारसँग सम्झौता भएको बीआरआई कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए।
नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यान्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने उनले बताए।
नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको उनले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए।
सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु-काठमाडौं रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरू गर्न आग्रह गरेको श्रेष्ठले बताए।
उनले भैरहवाभन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाइ प्रणालीको अवलोकन गरेको बताए।
‘चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो। नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरू सकारात्मक भएका छन्,’ उनले भने,‘चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि सधैँ सम्मान गर्दै आएको छ। नेपालको विकास प्रक्रियामा पनि सधैँ साझेदारको रूपमा सकारात्मक भूमिका खेल्दै आएको छ। नेपालमा संकट पर्दा भूकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौं। नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढिरहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छौं।’
चीनका उप्रधानमन्त्रीले सिचुवान पार्टी प्रमुखले पनि सकारात्मक रूपले सोचिने विश्वास दिलाएको श्रेष्ठले बताए।
उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए।