बागमती प्रदेशसभाको बैठक आज बस्दै छ।
प्रदेश सरकारले असार १ गते नै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेको भएपनि विपक्षी दलहरूको अवरोधका कारण त्यसमाथिको छलफल सुरू हुन सकेको छैन।
आजबाट बजेटमाथिको छलफल सुरू हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।
यसअघि बजेटबारे छलफल गर्नका लागि गत मंगलबार प्रदेशसभा बैठक आह्वान भएको थियो। तर, बजेटप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले संसद चल्न नदिएपछि बैठक स्थगित गरी बुधबार ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको थियो।
दलहरूबीच सहमति नजुटेपछि निर्धारित समयमा बैठक बस्न सकेन।
संसद सचिवालयले कारणवश भन्दै दिउँसो १:३० बजे बैठक बस्नेगरी समय निर्धारण गरेकामा सो समयमा पनि बैठक बस्न सकेन। दिउँसो साढे ३ बजे निर्धारण गरिएको बैठक पनि बस्न नसकेपछि पुनः साँझ ५ बजेका लागि बैठक तय भएको थियो।
दिनभरीको छलफलबाट पनि दलहरूबीच सहमति जुट्न नसक्दा बैठक आधा घन्टा ढिला गरी सुरू भएको थियो।
बैठक सुरू भएलगत्तै एमाले र राप्रपाले आफ्नो माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएपछि सभामुख भूवनकुमार पाठकले आइतबार(असार १७ गते) सम्मका लागि बैठक स्थगित गरेका थिए।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच सहमति नजुट्दा हिजो पनि बैठक निर्वाध ढंगले अगाडि बढ्न सकेन।
विपक्षी दलको अवरोधका कारण स्थगित भएको बैठक आज बिहान ११ बजेदेखि बस्नेगरी बोलाइएको छ।
प्रदेशसभा सचिवालयका प्रवक्ता गुप्ताका अनुसार आइतबार सभामुख पाठकले सदन खुलाउने विषयमा दलहरूसँग छलफल गरेका थिए। उनले असन्तुष्टिहरूलाई छलफलमार्फत समाधान गर्न र सदन सञ्चालन गर्न दलहरूलाई अनुरोध गरेका थिए।
प्रतिपक्षी दलले बजेट विभेदकारी भएको भन्दै सच्याएर ल्याउन माग गरेका छन्। उनीहरूले बजेट समानुपातिक बाँडफाट नभएको, नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयहरू समावेश नभएको भन्दै विरोध गरिरहेका छन्।