समाजवादी गणतन्त्रतात्मक व्यवस्था निर्माणको संकल्पसहित गत असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो।
संविधानको संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरी सत्ता गठबन्धनभित्रका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अलग्गै मोर्चा बनाएका थिए।
केन्द्रीय सचिवालय बनाएर प्रदेश र स्थानीय तहसम्म संरचना विस्तार गर्ने भने पनि त्यसको पहिलो बैठकसमेत बस्न नसकेको नेताहरूले बताएका छन्।
‘हिजोआज नै बैठक बस्ने कुरा थियो। तर, हाम्रो पार्टीका अध्यक्ष सोमबार श्रृलंका जाँदै हुनुहुन्छ। उहाँ आएपछि बैठक बस्छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सेतोपाटीसँग भने।
श्रीलंकन कम्युनिस्ट पार्टीको निमन्त्रणमा त्यता जान लागेका अध्यक्ष नेपाल असार २१ गते फर्कने कार्यतालिका छ। उनी फर्किएपछि मोर्चाले गति लिने पाण्डेले बताए।
मोर्चाको नीतिगत निर्णय गर्न घटक दलहरूको प्रतिनिधि रहने संयोजन समिति बन्ने शीर्ष नेताहरूले हस्ताक्षर गरेको दस्तावेजमा उल्लेख छ।
तर, सचिवालय गठन भइनसकेको नेताहरूले बताए।
सचिवालयमा शीर्ष नेता रहने र आलोपालो नेतृत्व गर्ने सहमति भए पनि कसले पहिला नेतृत्व गर्ने तय हुन बाँकी छ।
त्यसको ढाँचा बनिरहेको र एक–दुई दिनभित्रै बैठक बसेर तय हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
‘बैठकको तयारी भइरहेको छ, एक–दुई दिनभित्रै बैठक बस्छ। सचिवालय, नेतृत्वको फ्रेमवर्क पनि बन्दैछ,’ तिमिल्सिनाले सेतोपाटीसँग भने।
समान उद्देश्य, नीति, कार्यक्रम बोकेका र गठबन्धनको अवधारणालाई समर्थन गर्ने राजनीतिक दललाई मोर्चामा सामेल गराउने नेताहरूले बताएका छन्।
तर, मोर्चा ४ दलबाट विस्तार हुनेमा चाहिँ नेताहरूले शंकै गरेका छन्।
डा. बाबुबराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा सामल नहुने सम्भावना न्यून रहेको उपाध्यक्ष पाण्डेले बताए।
‘उहाँ आउने सम्भावना न्यून देखियो। संवाद गर्ने कुरा त भई नै हाल्छ,’ उनले भने। उनले मोर्चाको बैठक बसेर आवश्यकता अनुसार छिट्टै स्थानीय तहसम्म संरचना विस्तार गर्ने बताए।
नेसपाका नेताहरूले पनि मोर्चा सत्तास्वार्थले सिर्जित गठजोड भएको बताए। मोर्चा गठनको उद्देश्य, नीति, कार्यक्रमबारे कसैले पनि छलफल नगरेकाले सहभागी हुने सम्भावना नरहेको उनीहरूको भनाइ छ।