प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन्।
आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव गर्नु पर्ने भए पनि नगरेकोमा आफूलाई पश्चात्ताप लागेको उनले बताए।
‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नैपर्थ्यो। मैले सकिनँ, मलाई पश्चात्ताप छ,’ कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने।
आफूले त्यसबेला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाले राजीनामा नदिन पटकपटक भनिराखेको प्रधानमन्त्री दाहालको भनाइ छ।
‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो। मलाई बोलाएर समाल्नु देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो,’ उनले भने, ‘उहाँको निधन भइसक्यो। शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो।’
भिडिओ: