प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ आउनेहरूलाई ठाउँ छोड्न केही गाह्रो नहुने बताएका छन्।
आफूहरूले लिएका एजेन्डाभन्दा राम्रा एजेन्डासहित कोही दलहरू आए ठाउँ छोड्न गाह्रो नपर्ने प्रधानमन्त्री दाहालले बताएका हुन्।
‘मैले कहिलेकाहीँ भन्ने गर्छु, हाम्रोभन्दा राम्रो विचार लिएर कोही आउने, हाम्रोभन्दा धेरै त्याग र तपस्या रहेका दलहरू कोही अगाडि आउने र जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने तिनीहरूलाई सम्मान गर्न, ठाउँ छोड्न केही गाह्रो छैन,’ गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।
तर राम्रा एजेन्डासहित कोही नआएको प्रधानमन्त्री दाहालको भनाइ छ। ‘हामीले अलिकति पनि हेलचक्य्राइँ गर्ने हो भने यो प्रणाली र राष्ट्रकै भविष्य दुर्घटनामा पर्ने देखिन्छ,’ उनले भने।
उनले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आफू नेतृत्वको अहिलेको सरकारले काम गरिराखेको पनि बताए।
‘यहाँ सामान्य सुधारबाट समस्याको हल हुने देखिँदैन,’ उनले भने, ‘प्रधानमन्त्री २ पटक पहिले नै भइसकेको थिएँ। फोटा त सिंहदरबार र बालुवाटारमा झुण्डिएका छन्। अन्तिम लडाइँ लड्नुपर्छ भनेर यसपालि प्रधानमन्त्री भएको हो। म नभए हुँदैन जस्तो लाग्यो मलाई यसपटक।’
उनले कांग्रेसबिना शान्ति प्रक्रियालाई अघि बढाउन नसकिने पनि बताए। ‘जताजताबाटै प्रधानमन्त्री भए पनि अन्तिममा शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्याउन कांग्रेससँगै आएँ,’ उनले भने।