संसदीय समितिका सभापति चयनमा देखिएको गाँठो फुकाउन सभामुख देवराज घिमिरेले छलफल थालेका छन्।
सभामुख घिमिरेको आह्वानमा प्रमुख तीन राजनीतिक दलका अध्यक्षहरूको बैठक सिंहदरबारमा सुरू भएको छ।
बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ पनि सहभागी छन्।
वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो।
समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो। तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्।