नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।
बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले असार २७ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।
कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो।
विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।
कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको थिएन। केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गरेका थिए।
असार २७ देखि करिब एक सातासम्म केन्द्रीय समिति बैठक चल्नेछ।
साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको थियो।
साधारण र क्रियाशील सदस्यता, विभिन्न तहका सम्मेलनलगायत विभिन्न विषयमा कांग्रेसले बिहीबार जिल्ला सभापतिहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफलसमेत गर्दैछ।
कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ।