लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका विषयमा असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तापक्षका बीचमा सहमति भएको छ।
एमालेले सरकारले प्रस्तुत गरेको बजेटप्रति असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो।
लुम्बिनी प्रदेशसभामा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकारले निर्देशनालय खारेजी र क्रमागत योजनाहरुमा बजेट कटौती गरेकोमा विरोध जनाउँदै आएकोमा सरकारले दुईवटै विषयमा सम्बोधन गर्ने भनेपछि संसद चल्न दिने सहमति गरेको जानकारी दिए।
बजेटमाथीको छलफलका लागि मंगलबार आह्वान गरिएका दुईवटै बैठक अवरुद्ध गरेपछि मंगलबार राती नै सत्तापक्ष र एमालेका बीचमा निर्देशनालय खारेज नगर्ने र क्रमागत योजनाहरुको बजेटलाई पनि निरन्तरता दिने सहमति भएको चौधरीले बताए।
‘विभिन्न निर्देशनालयहरु खारेज गर्ने सरकारले निर्णय गरेको भएपनि आगामी वर्षको बजेट समेत विनियोजन गरिएकोले निर्देशनालय खारेज नगर्ने र क्रमागत योजनाहरुलाई पनि बजेट विनियोजन गर्ने सत्तापक्षबाट सहमति भएको छ,’ चौधरीले भने।
दुवै पक्षबीच सहमति भएपछि बुधवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने बताईएको छ।
प्रदेशसभा सचिव दुर्लवकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठक बुधवार दिउँसो १ः०० बजे बस्नेगरी सूचना जारी गरेका छन्।