लुम्बिनी प्रदेश सभाको बैठक चलिरहेको बेला जेनेरेटरमा आगलागी भएपछि बैठक स्थगित भएको छ।
बजेटका विषयमा असहमति जनाउँदै यसअघि असार १३ गतेदेखि १९ गतेसम्मका ५ वटा बैठक अवरूद्ध गर्दै आएको एमाले र सत्तापक्षका बीचमा सहमति जुटेपछि बुधबार दिउँसो १ बजे प्रदेश सभाको बैठक सुरू भएको थियो।
दिउँसो १ बजेदेखि बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले उठाएका माग र विषयहरूमाथि मुख्यमन्त्री डिल्ली चौधरीले जवाफ दिएपछि एमालेका प्रमुख सचेतक तुलसी चौधरी बोलिरहँदा अचानक जेनेरेटरमा आगलागी भएको थियो।
जेनेरेटरमा आगलागी भएर प्रदेशसभा बैठक कक्षमा विद्युत आपूर्ति बन्द भए पनि एमाले प्रमुख सचेतक चौधरीले आफ्नो भनाइ राखिरहँदा सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकोले १० मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरेका थिए। स्थगित गरिएको बैठक आधा घण्टासम्म पनि सुरू हुन सकेको छैन।
प्रदेशसभा सचिवालयका प्रवक्ता ईश्वरी प्रसाद आचार्यले विद्युत लाइन गएर जेनेरेटर संचालन गर्दा जेनेरेटरबाट धुँवा निस्किएकोले बन्द गरिएको बताए।
आचार्यले जेनेरेटरबाट धुँवा निस्किएपछि प्रदेशसभा बैठक पनि स्थगित भएको बताए।
प्रदेशसभा सचिवालयमा रहेका प्राविधिकहरूले जेनेरेटरमा कसरी आगलागी भयो भन्नेबारे हेरिरहेको आचार्यले बताए।
लुम्बिनी प्रदेशसभा सचिवालयले प्रदेशसभामा आवश्यक उपकरण तथा मेसिनरी सामग्री खरिद गर्दा कमसल सामग्री खरिद गर्दै आएकोले पटक/पटक यस्ता समस्या दोहोरिरहेको एक सांसदले बताए।
‘प्रदेशसभा स्थापना भएको ५ वर्षको अवधिमा अडिओ तथा भिडिओका उपकरण तथा मेसिनरी सामग्री समेत कमसल खरिद गर्ने गरेकोले तीन चार पटक परिवर्तन भइसकेका छन्,’ ती सांसदले भने।