त्रिचन्द्र क्याम्पसका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन्।
एक वर्षदेखि पूरा तलब नपाएको विरोधमा क्याम्पसका प्राध्यापक र कर्मचारीले आज बिहानदेखि पेन डाउन गरेका हुन्।
विश्वविद्यालय प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइ समितिका सभापति टिकाराज कैनीले आज बिहानदेखि आफूहरू पेन डाउन गरी आन्दोलनमा उत्रिएको जानकारी दिए।
सरकारले आर्थिक वर्ष ०७९/०८० को सुरूआतदेखि नै लागू हुनेगरी प्राध्यापक र कर्मचारीहरूको तलब बढाएको तर आर्थिक वर्षको अन्त्य हुनै लाग्दासमेत बढेको तलब नपाएपछि पेन डाउन गर्न वाध्य भएको कैनीले बताए।
उनका अनुसार त्रिचन्द्रमा झन्डै तीन सय जना पूर्णकालीन र डेढ सय आंशिक प्राध्यापक छन्। उनीहरूसँगै झन्डै सय जना कर्मचारीहरूले एकवर्षदेखि पूरा पारिश्रमिक पाएका छैनन्।
यसबारेमा क्याम्पस प्रशासनसँग लगातार छलफल भएपनि सुनुवाइ नभएपछि पेन डाउन गर्न वाध्य भएको उनले बताए।
यसअघि असार १७ गते प्राध्यापक संघले ध्यानाकर्षण पत्र जारी गर्दै तीन दिनभित्र आफूहरूको माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो। तर, तीन दिन बितिसक्दा पनि आफूहरूको मागबारे क्याम्पस प्रशासन संवेदनशील नभएपछि पेन डाउन गर्नुपरेको सभापति कैनी बताउँछन्।
‘हामी प्राध्यापकको मर्यादाभित्र रहेर आन्दोलन गर्छौं,’ उनले भने। उनका अनुसार त्यहाँका प्राध्यापक र कर्मचारीहरूले एकवर्षदेखि १५ प्रतिशत कम पारिश्रमिक पाउँदै आएका छन्।
‘प्राध्यापक एवम् कर्मचारीवर्गले परिश्रम गरेवापत नियमानुसार नियमित रूपमा पाउनुपर्ने तलब पारिश्रमिक नपाउँदा उहाँहरूको नैसर्गिक अधिकारको बर्खिलाप ठहरिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
बिहानदेखि पेन डाउन गरेर बसेको भएपनि यसमा क्याम्पस प्रशासनबाट कुनैपनि प्रतिक्रिया नआएको सभापति कैनी बताउँछन्।
‘अब तीन दिन कुर्छौं, सुनुवाइ नभए अझै सशक्त ढंगले अगाडि बढ्छौं,’ उनले भने।