नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने बताइएको छ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी छन्।
बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए।
आज बाँकी जिल्ला सभापतिहरूले धारणा राखेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोल्नेछन्।
काठमाडौं नआएका जिल्ला सभापतिलाई जुममार्फत बैठकमा सहभागी गराइएको थियो।
सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग बैठक गरेका हुन्।
२०७८ मंसिरको १४ औं महाधिवेशनपछि कांग्रेसले पहिलो पटक जिल्ला सभापतिहरूसँग बैठक गरेको हो।
जिल्ला सभापतिहरूले पार्टीको कार्यशैली, केन्द्र र प्रदेश सरकार तथा बजेट, भ्रातृ संस्थाका तदर्थ समिति विस्तार लगायतमा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
जिल्ला सभापतिहरूले मुख्य ३ विषयमा केन्द्रित रहेर धारणा राखेका छन्।
पहिलो, संघ र प्रदेश सरकारले ल्याएको बजेटबारे छ। दोस्रो, अनुशासन कारबाही। तेस्रो, भ्रातृ संस्था (तरूण दल) विस्तार गर्दा जानकारीसमेत दिइएन भन्नेमा पनि उनीहरूले असन्तुष्टि राखेका थिए।
त्यसो त, केही जिल्ला सभापतिहरूले संगठन सुदृढीकरण गर्न देशैभरि अभियान चलाउनुपर्ने, नीति अधिवेशन गर्नुपर्ने, जनमुखी काममा पार्टीलाई जोड्नुपर्ने जस्ता विषयसमेत राखेका छन्।
केहीले भने पार्टीले जिल्ला सभापति बैठक राखेको हो कि महामन्त्रीहरूले मात्रै हो भन्ने जिज्ञासा राखे। यसबारे प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर महामन्त्रीहरूलाई बैठक गर्ने जिम्मेवारी दिएको जवाफ दिएका छन्।
