नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे।
उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए।
उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताए।
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको बताए।
उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ। भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो। गोप्य मन्त्रणा गरेर आउनु भयो। मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, त्यहाँ गएर भेटेको होइन। मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो।’
उनले अघि भने, ‘जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ।’