प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा ढिलाइ क्षम्य नहुने बताएका छन्।
दाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कुनै पनि बहानामा ढिला न्याय दिनु भनेको न्याय मर्नु सरह भएको बताए।
‘न्याय सम्पादनमा कुनै पनि बहानाबाजीमा ढिलाइ क्षम्य हुँदैन,’ उनले भने, ‘न्यायालयमा ढिलासुस्ती नहोस् भनेरै फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको हो।’
सरल प्रकृतिका मुद्दालाई ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल वा विशेष प्रकृतिका मुद्दालाई १८ महिनामा किनारा लगाउने गरी काम भइरहेको उनले जानकारी दिए।
दुई वर्ष बढी म्याद नाघेका मुद्दाहरूलाई सक्नुपर्ने अभियान चलाएपछि जिल्लादेखि सर्वोच्च अदालतसम्म अहिले अधिकांश मुद्दाहरू टुंगिएको उनले चर्चा गरेका थिए।
छिटो छरितो न्यायका लागि दुई वर्ष बढी म्याद नाघेका मुद्दाहरूलाई टुंग्याउन सबै अदालतहरूलाई सर्कुलर जारी गरिएपछि त्यही अनुसार अदालतबाट धमाधम फैसला भएको उनले बताए। तर उनले अदालतबाट मुद्दामा फैसलाभन्दा पनि मेलमिलापलाई जोड दिन आग्रह गरे।
दाङ जिल्ला अदातलको नयाँ भवन २५ करोड १९ लाख ८८ हजार ९ सय रुपैयाँ बढी लागतमा निर्माण गरिएको हो।
२०७४ साल कात्तिक २२ गते एमके जेभी कन्स्ट्रक्सन काठमाडौंले भवन निर्माणको सम्झौता गरेको थियो।