नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताका व्यक्ति प्रधानमन्त्री बन्नु मुलुकको आवश्यकता रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले सधैँ भूतपूर्व क्लबकै व्यक्तिहरू प्रधानमन्त्री बन्ने सिलसिला तोडिनुपर्ने बताएका हुन्।
भूतपूर्वहरू नै लगातार प्रधानमन्त्री बन्ने क्रमलाई ब्रेक लगाउन आफूले नेपाली कांग्रेसभित्र प्रयास गरेको महामन्त्री थापाको भनाइ छ।
‘एमाले र माओवादीले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो। हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ,’ उनले भने, ‘त्यही कुरा गर्ने कोसिस गरेको हो।’
महामन्त्री थापाले भूतपूर्व प्रधानमन्त्रीलाई फेरि कांग्रेसले प्रधानमन्त्री बनाउन नहुने बताए। त्यसकारण फेरि आफू संसदीय दलको नेता बन्न लाग्ने उनले बताए।
‘सके बदल्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु। बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ,’ उनले भने।
महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई मिसन २०८० र २०८१ सुरु गर्न जरुरी रहेको बताए।
सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न कांग्रेस लाग्नुपर्ने उनको भनाइ छ।