नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (एमाले) का कारण आइतबार संसद बैठक बस्न नसकेको बताएका छन्।
आज दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलिसम्म स्थगित भएको छ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ।
आजको बैठक सञ्चालन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदमा स्पष्टीकरण दिने सहमति भएको थियो।
‘छलफलमा उहाँ (ओली) प्रधानमन्त्रीलाई बोल्न दिने सहमति गरेर जानुभयो तर पछि हामी संसद बैठक चल्न दिन्नौं है भनेर सन्देश पठाउनुभयो,’ पाण्डेले भने,‘प्रमुख प्रतिपक्षी दलले संसद चल्न नदिने भनेपछि आजको बैठक बस्न सकेन।’
एमाले सांसद योगेश भट्टराईले भने आफूहरू प्रधानमन्त्रीका कुरा सुन्न संसदमा गएको भए पनि प्रधानमन्त्रीकै कारण बैठक स्थगित भएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी त प्रधानमन्त्रीको जवाफ सुन्न संसद भवन पुगेका मात्र थियौं। प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सूचना आयो। जवाफ तयार गर्नुअघि कतै सोध्नु पर्ने हो कि? किन सारिए छ? कोनि?’
एमालेका मुख्य सचेतक पदम गिरीले पनि प्रधानमन्त्रीकै कारण आजको बैठक स्थगित भएको बताए।
‘हामीले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिए र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने ग्यारेन्टी गरे बैठक चल्न दिन्छौं भनेका थियौं तर उहाँले नै भोलिसम्म बैठक सार्न सभामुखलाई अनुरोध गर्नुभयो,’ गिरीले भने,‘उहाँलाई किन समय चाहिएको हो, हामीलाई थाहा भएन।’