प्रमुख तीन दलको बैठकलगत्तै नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो।
बैठकपछि संसद्को अवरोध हटाउन सकारात्मक भएको एमालेका एक नेताले प्रतिक्रिया दिएका थिए।
‘संसद्को अवरोध हटाउने विषयमा सकारात्मक कुराकानी भएको छ। बैठकपछि हामी संसदीय दलमा आएका छौं,’ ती नेताले भने।
यता एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।