एमाले संसदीय दल संसद् बैठक खुलाउन सकारात्मक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति फिर्ता लिने र संसदलाई प्रष्टीकरण दिने भएपछि बैठकको अवरोध हटाउन एमाले संसदीय दल सकारात्मक भएको हो।
प्रधानमन्त्री ‘प्रचण्ड’सहित प्रमुख तीन दलबीचको सिंहदरबारमा बसेको बैठक गत्तै बानेश्वरमा एमाले संसदीय दलको बैठक बसेको थियो।
संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा दलका नेता केपी शर्मा ओलीले तीन दलको बैठकको समझदारी ब्रिफिङ गरेका थिए। त्यहाँ उनले प्रधानमन्त्री प्रचण्डले १८ गतेको अभिव्यक्ति र २१ गतेको सचिवालयलले निकालेको प्रेस विज्ञप्ति पनि फिर्ता लिने बिफ्रिङ गरेको सांसद ठाकुर गैरेले जानकारी दिए।
‘प्रधानमन्त्रीले अभिव्यक्ति र वक्तव्य फिर्ता लिने र सदनमा प्रष्टीकरण पनि दिने भनेपछि संसदीय दल अवरोध हटाउन सकारात्मक छ। तर, प्रधानमन्त्रीको वक्तव्य कसरी आउँछ त्यसलाई पनि हेर्ने कुरा भएको छ,’ उनले सेतोपाटीसँग भने।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न सकेको थिएन।