काठमाडौं महानगरपालिकामा प्लस टु मात्र सञ्चालन गर्न नपाइने कानुन बनाउने प्रस्ताव पेश भएको छ।
महानगरभित्र प्लस टु मात्रै सञ्चालन गरेका विद्यालयहरूले अबदेखि कक्षा १० सम्म पनि पढाउनुपर्ने गरि कानुन संसोधन गर्न वडाध्यक्ष मच्चाराजा महर्जनले नगरसभामा प्रस्ताव पेश गरेका हुन्।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित महानगरपालिकाको १३ औं नगरसभामा वडा नम्बर २३ का वडाअध्यक्ष तथा विधान समितिका संयोजक महर्जनले काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ संसोधन प्रस्ताव पेश गरेका छन्।
'अहिले ११ र १२ शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गरिरहेका शिक्षण संस्थाले १० कक्षासम्म कक्षा सञ्चालन गर्नुपर्नेछ,' उनले नगरसभालाई सम्बोधन गर्दै भने, '११ र १२ का शिक्षण संस्थाले तल्लो तहका नयाँ कक्षा सञ्चालन गर्दा निजी कम्पनी वा गुठी विद्यालयसँग मर्ज हुन सक्नेछन्।'
नगरसभालाई सम्बोधन गर्दै उनले भने- मर्ज भएका विद्यालयले भने एउटै नाम राख्नुपर्ने गरि मैले संसोधन प्रस्ताव राखेको छु।
उनले प्रस्ताव गरेको संसोधन नगरसभाले पारित गर्यो भने यो कानुनका रूपमा लागु हुन्छ। यस्तो व्यवस्था पास भए एक वर्षभित्र लागु गरिसक्नुपर्ने प्रस्तावमा उल्लेख भएको पनि उनले बताएका छन्।