सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट ५ जना मेक्सिकन नागरिक लिएर उडेको मनाङ एयरको जहाज सवा १० बजे सम्पर्कबिहीन भएको थियो। त्यसको केही समयपछि लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा दुर्घटनाग्रस्त अवस्था भेटिएको थियो।
पाइलट चेतबहादुर गुरूङ र अन्य पाँच मेक्सिकन नागरिक पनि मृत फेला परेका थिए। अहिले ६ जनाकै शव अल्टिच्युड हेलिकप्टरमार्फत पोष्टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ।