प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी हुने भएको छ।
सरकारमा सहभागी हुन जनमतले अनितादेवी साहलाई सिफारिस गरेको पार्टीका अध्यक्ष सिके राउतले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्रीले केही दिन पहिले नै हाम्रो पार्टीको तर्फबाट नाम माग्नुभएको थियो। हामीले बुझाएका छौं,' उनले भने, 'मन्त्रालय र शपथको भने टुंगो लागिसकेको छैन। उहाँले भन्नुहुन्छ होला।'
गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो।
जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।
जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।
सरकार छाडेको साढे तीन महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।
स्रोतका अनुसार प्रचण्डले जनमत पार्टीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
अहिले माओवादीका अमनलाल मोदी यो मन्त्रालयका मन्त्री छन्।
जनमतले सिफारिस गरेकी अनिता साह पार्टी सचिव हुन्। धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी हुन्।
स्रोतका अनुसार प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। राउत सहभागी भएमा उनलाई उपप्रधानमन्त्रीसहित संघीय मामिला मन्त्रालय दिन प्रचण्ड तयार रहेको पनि स्रोतले बताएको छ।