नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सुरू गर्ने भएको छ।
साउन १ गतेदेखि छ महिनासम्म यो अभियान चल्नेछ।
नेसपाले जिल्ला-जिल्लामा वृक्षारोपण गर्दै संगठन विस्तार अभियान सुरू गर्ने भएको हो।
साथै प्रदेशस्तरीय प्रशिक्षण बैठकसमेत गर्ने निर्णय भएको छ।
कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बाग्मतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।
विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका नेतालाई अभियानको नेतृत्वमा चयनसमेत गरिसकिएको छ।
कोशीमा हिसिला यमी, मधेसमा अध्यक्ष महेन्द्र यादव, बाग्मतीमा गंगा श्रेष्ठ, गण्डकीमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर साह र सुदूरपश्चिममा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ।
अभियानको प्रभावकारिता अनुगमन गर्न समिति पनि बनाइएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको हो।