परराष्ट्र मन्त्री एनपी साउदले कूटनीतिक सम्बन्ध र सेनाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरेका छन्।
बिहीबार राष्ट्रिय सभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशील हुनुपर्ने बताए।
‘विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाजस्तो विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्दछु,’ उनले भने।
नेपाली सेना संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत विश्वमा शान्ति स्थापना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम र समर्पित रहेको उनले बताए।
‘नेपाली सेना युएन मिसनअन्तर्गत विश्वमा शान्ति स्पथना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम एवम् समर्पित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ साउदले भने।
नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको बताएका उनले सबै देशसँग नेपालको सम्बन्ध समधुर रहेको बताए।
‘असंलग्न परराष्ट्र नीतिको विषय परिपक्वताका साथ नेपालले अपनाउँदै आएको स्पष्ट पार्न चाहन्छु। हाम्रो सबै देशसँग समधुर सम्बन्ध रहेको छ,’ उनले भने।
गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उनले बताए।
परराष्ट्र नीति २०७७ मा उल्लेख भएको व्यवस्था बमोजिम नेपाल सरकारले आवश्यकताअनुसार यस नीतिको पुनरावलोकन वा परिमार्जन गर्ने पनि उनले बताए।