राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकको सैद्धान्तिक छलफलमा उद्योग मन्त्री रमेश रिजाल र सांसदहरूले उल्टो धारणा राखेको विषय लज्जास्पद भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्।
शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग बोल्दै उनले यसका लागि मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए।
बिहीबार राष्ट्रिय सभामा अनलाइनबाट सामान खरिद बिक्री गर्नेसम्बन्धी विधेयकमाथिको छलफलमा मन्त्री र सांसदहरूले बिजुली किनबेचको विषयमा बोलेका थिए। जसले सांसद र मन्त्री समेत विधेयकको विषयवस्तुमा जानकार नरहेको छरपस्ट भएको थियो।
'यो हामी सबैका लागि लज्जास्पद कुरा हो', नेम्वाङले भने, 'हाम्रा माननीयबाट भएको गल्तीका लागि हामीले पनि आत्मालोचित हुनुपर्छ। सरकार साह्रै लज्जास्पद भएकाले सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ।'
नेम्वाङले विषयवस्तु बाहिर गएर बोलेको अवस्थामा बैठकको अध्यक्षता गर्ने व्यक्तिले रोक्ने व्यवस्था नियमावलीमा रहेको बताए।
'यस्तो असम्बद्ध छलफल रोक्ने नियमावलीको व्यवस्था छ', नेम्वाङले भने, 'तर के कारणले हो त्यस्तो भएको देखिएन। जे भयो हाम्रो संसदको दुखद् पक्ष हो।'