संक्रामक बन्दै गएको लम्पी स्किन रोगबारे संसद्लाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन्।
प्रतिनिधि सभामा शुक्रबार पनि सांसदहरूले लम्पी स्किन रोगबाट २७ हजार पशुचौपाया मरेको भन्दै कुरा उठाएका थिए।
त्यसपछि सभामुख घिमिरेले सम्बन्धित मन्त्रीलाई यससम्बन्धमा स्पष्ट पार्न र सरकारले रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन रूलिङ गरेका हुन्।
‘लम्पी स्किन भन्ने रोगको सन्दर्भमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ।यससम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देषित गर्छु,’ उनले शुक्रबारको बैठकमा भने।
शुक्रबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको बताएका थिए।
सांसद गिरीले ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको बताएका थिए।
‘रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन्,’ उनले बैठकमा भने, ‘बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन्।’
उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए।
त्यस्तै उनले खोप लगाउने कार्य सुस्त भएको पनि बताए।
‘अहिलेसम्म ३७ अर्ब बराबरको क्षति भएको छ। जसरी सरकारले गम्भीरता देखाउनुपर्थ्यो, सकेन। विभागले बजेट छैन भनेर भनिरहेको छ। कार्यालयका हाकिमहरूले बजेटै नभएको बताइरहेका छन्,’ उनले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रकमान्तर गरेर भए पनि राहत दिनुपर्यो।’
यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि लम्पी स्किन रोग नियन्त्रणमा सरकारको भूमिका अपर्याप्त रहेको बताए। गोरूमा रोग देखा पर्दा गाउँघरमा रोपाइँ नै हुन नसक्ने अवस्था आएकाले तुरून्तै यसको रोकथाममा लाग्नुपर्ने बताएका थिए।