नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको एउटा तह र तप्का असाध्यै परपीडक बन्न थालेको बताएका हुन्।
पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समाजमा असत्यमा आधारित दुष्टतापूर्ण तरिका अवलम्बन गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘कतिपयले अंश कटाएर, के प्रशारण गर्छ, के बोलेको देखाउँछ, बोल्दामात्रै त। त्यो अनर्थ लाग्ने पनि हुन सक्छ। नेपाली समाजको एउटा पक्षचाहिँ परपीडक, असत्यमा आधारित दुष्टतापूर्ण तरिका अवलम्बन गर्ने, सामाजिक मूल्यबाट स्खलित भएको छ। त्यो चिन्ताको विषय छ,’ उनले भने।
समाज सांस्कृतिक अधपतनमा नजाओस्, ओरालो नलागोस् भनेर सतर्क हुनुपर्ने अवस्था र आवश्यकता रहेको उनले बताए।
‘अध्यक्ष ओलीले एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन लगाएको बताए। एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ। त्यसमा भक्तिरसतर्फ समाजलाई डोर्याउने कुराले राज्य कमजोर भएका बेला अहिले राज्य त्यसबेलाको भन्दा मजबुत छ तर पनि भक्ति रस पनि भंग भयो, नैतिक रस पनि छैन। भक्ति पनि समाप्त भयो भगवानसँग पनि डराउन छोड्यो मान्छे, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बाेल्ने, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने, झूट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ,’ उनले भने।
यस्तो परपीडक भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठीक हुने उनको भनाइ थियो। भानुभक्तको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने ओलीले बताए।