पर्यटकीय सहर पोखरामा एउटा पनि गतिलो सार्वजनिक शौचालय छैन। फेवाताल किनारमा हिँड्ने पर्यटक सार्वजनिक शौचालय जान होटल र रेष्टुरेण्ट जानुपर्ने हुन्छ, बाराही घाटमा भएको शौचालय पनि व्यवस्थित र सफा छैन।
पर्यटकीय क्षेत्रमै एउटा पनि शौचालय बनाउन नसकेको भन्दै महानगरको आलोचना हुँदै आएको थियो।
लेकसाइडमा सार्वजनिक शौचालय बनाउन सूर्य टोवाको कम्पनीले प्रस्ताव गरेपछि महानगरले बाराही घाटको ‘भिजिट नेपाल पार्क ९८’ मा बनाउन अनुमति दियो। कम्पनीले सामाजिक उत्तरदायित्व स्वरूप डेढ करोड लगानी गरेर सार्वजनिक शौचालय बनाउन थालिसकेको छ।
नेपालमा पहिलो पटक सन् १९९८ मा मनाइएको ‘भिजिट नेपाल’ को स्मृतिमा उक्त पार्कको नाम नै भिजिट नेपाल पार्क ९८ राखिएको थियो।
पार्क एरोसन नेपाल नामक कम्पनीले सार्वजनिक शौचालय बनाउने र १५ वर्षसम्म उक्त शौचालयबाट निस्कने ग्याँसबाट चिया बनाएर बेच्ने महानगरले सम्झौता गरेको थियो।
पार्कमा शौचालय बनाउने नाममा निजी व्यवसायीलाई दिन खोजिएको भन्दै लेकसाइडका ५ जना युवाहरू अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र सुजन बटाजुले उच्च अदालत पोखरामा मुद्दा दायर गरे।
उनीहरूले पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मेयर धनराज आचार्य र पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराइलाई विपक्षी बनाएका थिए।
मुद्दामा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले तत्काल पार्क बनाउने काम रोक्न अन्तरिम आदेश दिइन्।
आदेशमा पोखरा महानगरलाई लिखित जवाफ दिन भनिएको छ।
पार्कमा शौचालय बनाएर निजी क्षेत्रलाई दिने र रेष्टुरेण्ट चलाउन खोजिएको उल्लेख छ।
यस विषयमा छलफल गर्न इजलासले साउन १७ गते छलफलमा उपस्थित हुन पनि दुबै पक्षलाई आदेश दिइएको छ।
उक्त मुद्दामा अधिवक्ताद्वय रोहितराज बास्तोला र भगवती पहारीले बहस गरेका थिए।
अदालतले उक्त आदेश दिएपछि बुझ्दै नबुझी मुद्दा हालेको भन्दै पोखरा आचार्यले आपत्ति जनाएका छन्।
शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा उनले पर्यटकीय क्षेत्रमा अत्याधुनिक शौचालय बनाउन लागेको र पार्कको एउटा पनि रूख नकाटिने दाबी गरे।
‘दुई तले भवन बनाउन लाग्यो, मेयरको इन्ट्रेष्टमा रेष्टुरेण्ट चलाउन लाग्यो भनेर नाम चलेका अधिवक्ताले रिट हाल्नुभएछ, मलाई दया लाग्यो,’ उनले भने, ‘हामीसँग सोध्नुपर्छ नि भएको के हो भने, बुझ्दै नबुझी यस्ता कुरा गर्नु उपयुक्त हौइन, यसमा हाम्रो गम्भीर आपत्ति छ।’
उनले शौचालयबाट निस्कने ग्याँसबाट मड्का चिया बनाएर बेच्ने पनि बताए। तर चिया कस्ले बनाएर बेच्ने खुलाएनन्।
महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले रेष्टुरेण्ट चलाउने कुरा निराधार रहेको बताए।
स्मार्ट शौचालय बनाउन लागेको भन्दै उनले स्तनपान कक्ष र अपाङ्गमैत्री शौचालय बन्ने दाबी गरे।
शौचलाय सफा गर्ने मान्छेको व्यवस्थापनका लागि चिया बेच्ने कुरा आएको उनले बताए।
मुद्दा दायर गरेको युवा अनिल थापाले नजिकै अर्को सार्वजनिक शौचालय भएकाले त्यसैलाई व्यवस्थित बनाउन माग गरे। पोखराका अर्को ठाउँमा यस्ता आधुनिक शौचालय बनाउनुपर्ने भन्दै उनले पार्कलाई यथास्थितिमा राख्नुपर्ने बताए।
‘पहिले पहिले यहाँ धारा र पोखरी थियो, हामी दशैंमा पिङ खेल्थ्यौं,’ उनले भने, ‘अहिले पोखरीको ठाउँमा पानीको फोहोरा आउने ठाउँ बनाइएको छ, अब शौचालय बनाउने भनेर मास्न भएन।’
शौचालयका विषयमा पटक पटक पोखरा ६ वडा कार्यालय र महानगर कार्यालयमा सूचनाको हक प्रयोग गरेर सूचना माग्दासमेत नदिएको उनले बताए।
‘हामीले सूचना माग्दा दिएनन्, अहिले नबुझी मुद्दा हाल्यो भन्छन्,’ उनले भने।