नेकपा एकीकृत समाजवादीको बैठक सोमबारसम्म स्थगित भएको छ।
आइतबार सक्ने गरी तयारी भए पनि शनिबार धेरै छलफल गर्न नपाएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
‘आज समाजवादी मोर्चाको बैठक बस्नुपर्ने भएकाले हामीले धेरै छलफल गर्न पाएनौं। सदस्यहरूको धारणा राख्ने क्रम सकिएको छैन,’ उनले भने, ‘आइतबार पार्टीका गतिविधि भएकाले सोमबार र मंगलबार बस्ने गरेर बैठक स्थगित गरिएको छ।’
शनिबारको बैठकमा समाजवादी मोर्चाको बारेमा छलफल भएको उनले बताए।
‘मोर्चालाई कसरी प्रभावकारी बनाएर लैजाने, यसको कार्यदिशा के हुने भन्ने बारेमा नै आज छलफल भयो। कार्यसूचीमा धेरै प्रवेश गर्न पाइएन,’ उनले भने।
यो पनि पढ्नुहोस्
समाजवादी मोर्चाको बैठकले गर्यो तीन निर्णय
नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेको छ।
शनिबार दिउँसो ३ बजे बसेको बैठकले चार-चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्।
समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ।
त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बताए।
बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको पनि उनले बताए।