नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले राजनीतिमा युवा सहभागिता आवश्यक रहेको बताएका छन्।
उनले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई आफ्नो रूचीअनुसार विषय छनौट गरेर त्यसमै केन्द्रित रहेर लक्ष्य प्राप्त गर्न पनि सुझाव दिएका छन्।
‘भविष्यको नेतृत्व अहिलेको पुस्ता हो। राजनीतिमा युवा सहभागिता आवश्यक छ,’ परिवर्तन अभियान नेपालले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्न शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने।

अभियानका संयोजक सुशील भट्टका अनुसार तारकेश्वर नगरपालिकाभित्रबाट एसईईमा उत्कृष्ट अंक ल्याएका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मी पोखरेल, सहारा लोहनी र आकृति सुनारलाई सम्मान गरिएको हो। छात्रतर्फ जेशन नेपाललाई पनि सम्मान गरिएको छ।
सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरिएको भट्टले बताए। यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उनले बताए।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताएका थिए।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विद्यार्थीहरुलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्नेगरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिएका थिए।