उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन्।
राजनीति गर्नेहरूलाई जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने उनले बताए।
‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं, ती प्रतिवद्धता पूरा गर्नु राजनीति गर्नेहरूको प्रतिबद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा उनले भने, ‘विकास निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरू गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ।’
साथै मन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमिविहिन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो छिटो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’
उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा काम पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताए।
‘एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरु वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ,’ उनले भने, ‘कोही पनि नेपाली नागरिक भूमिहीन भएर बस्नुपर्ने अवस्था हुँदैन।’
भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पूर्जा बनाएर वितरण गरेको छ।