परराष्ट्र मामिलाका विज्ञहरूले गुण र दोषका आधारमा मूल्यांकन गरेर राष्ट्रिय हितमा हुने गरी अन्य मुलुकसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन्।
नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले ५२ वर्ष पुगेको अवसरमा सोमबार गरेको कार्यक्रममा वक्ताहरूले असंलग्न हुनु भनेको कतै पनि नलागी हात बाँधेर बस्नु नभएको बताए।
कार्यक्रममा परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराईको किताब ‘नन अलाइमेन्ट क्वेष्ट फर एन इन्डिपेन्डेन्ट फरेन पोलिसी’ नामक पुस्तक सार्वजनिक गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अहिलेको सरकार एउटा ध्रुवतिर ढल्किएको हो कि भन्ने अनुभूति भइरहेको बताए।
‘नेपाल नजानिँदो तरिकाले एउटा शक्ति राष्ट्रतिर फर्किएको देखिएको छ, यो हामीले थेग्न सक्दैनौं,’ एमाले उपमहासचिवसमेत रहेका ज्ञवालीले भने,‘राष्ट्रिय हितमा अनुकूल हुनेगरी सबै देशसँग मित्रवत् व्यवहार गर्नुपर्छ।’
ज्ञवालीले नेपालजस्तो सानो देशलाई एक ध्रुवीयभन्दा बहुध्रुवीय समीकरणमा नै धेरै सहज हुने बताए।
माओवादी केन्द्रका नेता राम कार्कीले चीन र भारत कुनै पनि नेपालको मावली नभएको भन्दै नेपालले दायाँबायाँ लाग्ने भन्दा पनि नेपालीकै हित हुनेगरी काम गर्नुपर्ने बताए।
कार्यक्रममा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाले असंलग्न परराष्ट्र नीति अहिले पनि सान्दर्भिक भएको उल्लेख गर्दै नेपालले यसलाई आफ्नो कुरा राख्ने माध्यम बनाउनुपर्ने बताइन्। उनले नेपालजस्तो मुलुकले भारत र चीन दुबै देशसँग राम्रो सम्बन्ध बनाउनुपर्ने धारणा राखिन्।
पुस्तकका लेखक एवं परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराईले भारत र चीनको बीचमा नेपाल बदनाम भइरहेको बताए। उनले नेपालको सन्दर्भमा असंलग्न परराष्ट्र नीति झन् सान्दर्भिक भएको बताए। उनले असंलग्न हुनु भनेको तटस्थ रहनु नभएको बताए।