नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखी सुरु हुने भएको छ।
मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुने छ।
बैठकका लागि १० एजेन्डा तय भएका छन्। विधानअनुसार महामन्त्रीहरु र सभापति बसेर बैठकका एजेन्डा तय गर्ने हो। तर सभापति शेरबहादुर देउवाले सोमबार निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक गर्दै एजेन्डा तय गरेका थिए। यसअघि सभापति देउवा र महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माबीच एजेन्डा तय गर्नेबारे छलफल भएको थियो।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिमा चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत छलफल हुने छ।
कांग्रेसले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथी केन्द्रीय समितिमा छलफल गर्दै छ।
यस्तै विभाग गठन, थप र कामको व्याख्यासमेत गर्ने एजेन्डा तय छ। कांग्रेसमा २८ विभाग छन्। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार केही विभाग थप गर्ने र केहीका नाम परिमार्जन गर्नेजस्ता विषयमा छलफल हुने छ।
संगठन सुदृढीकरणका लागि राष्ट्रव्यापी अभियानको घोषणा, आनन्द ढुंगाना संयोजक रहेको अनुशासन समितिको प्रतिवेदन, संसदमा भएका कामकारबाहीमा कांग्रेस सांसदले खेलेका भूमिकाको प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन पेश गर्ने एजेन्डा पनि छ।
साथै प्रदेश र केन्द्र सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिने र समीक्षा गर्ने एजेन्डा छ। उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस सहभागी र नेतृत्व गरेका सरकारले गरेका कामकारबाहीबारे जानकारी बैठकमा प्रस्तुत गर्ने छन्।
कांग्रेसले केन्द्रीय समिति बैठक पहिलोपटक आज लाइभ गर्ने तयारी गरेको छ। सभापति देउवाले केन्द्रीय सदस्यहरु बैठकमा एउटा बोल्ने, मिडियामा अर्कै बोल्ने गरेकोले केन्द्रीय समिति बैठक नै पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गर्ने प्रस्ताव अघि सारेका छन्।