नेपाली कांग्रेस रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाइएको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
रूपान्तरण अभियानले प्रदेश भेलाबाट प्राप्त सुझाव पार्टीमा छलफलका लागि बुझाएका हुन्। गत जेठ महिनामा सातै प्रदेशमा रूपान्तरण अभियानका भेला भएका थिए।
रूपान्तरण अभियानले सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई नै बुझाउन समय माग गरेका थिए। तर सभापति देउवाको कार्यव्यस्तताका कारण मुख्यसचिवमार्फत सुझाव प्रतिवेदन बुझाइएको हो।
यो पनि:
रूपान्तरण अभियानले कांग्रेसमा हलचल
नेतृत्वले कांग्रेस रूपान्तरण अभियानलाई स्वीकार नगरे विशेष महाधिवेशनको प्रक्रियामा जान्छौं: मधु आचार्य
७ विषयले कांग्रेसका कार्यकर्तालाई चिन्तित बनाएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
मंसिरको चुनावमा पार्टीको लोकप्रिय मत घट्दै गएको, अस्वभाविक गठबन्धन तथा सरकार निर्माणले राजनीतिक दुर्घटना भएको, गत वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएको, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीभित्र छटपटी र आक्रोश, भ्रातृ संस्था भद्रगोल र नीति तथा विधिविहीन तरिकाले पार्टी सञ्चालन हुनुले चिन्तित बनाएको पाइएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
पार्टीलाई यथास्थितिबाट मुक्त गर्नुपर्ने नेता गुरूराज घिमिरेले बताए। ‘समग्र रूपबाट पार्टी रूपान्तरण गर्न सकिएन भने कांग्रेसले आगामी चुनौती सामना गर्न सक्दैन भन्ने हामीले ठहर गरेका छौं,’ उनले भने, ‘हामीले सातै प्रदेश भेला गरेर आयौं। प्राप्त गहकिला सुझाव पार्टीलाई बुझाइएको हो।’
आफूहरूले गरेको कांग्रेस रूपान्तरण अभियानलाई पार्टीका तल्ला तहका संरचनाले अनुमोदन गरिदिएको पनि उनको भनाइ छ।