नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेले व्यक्ति-व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान गरिएको आरोप लगाएकी छन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले रूपान्तरण अभियान पार्टीलाई बलियो बनाउनभन्दा पनि व्यक्ति बलियो बनाउन केन्द्रित रहेको बताइन्।
‘धेरै साथीहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ। गाउँ-गाउँमा पुग्नुभएको छ,’ उनले भनिन्, ‘रूपान्तरणको पक्षमा हामी पनि छौं। रूपान्तरणको नाममा कांग्रेस बलियो बनाउनभन्दा पनि साथीहरू व्यक्ति-व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि भन्ने लागेको छ।’
उनले पार्टी बलियो बनाए मात्रै सबै बलियो हुने पनि बताइन्। ‘कांग्रेसरूपी डुंगा प्वाल पर्दा सबै डुब्छौं,’ उनले भनिन्।
पार्टीको कार्यशैली सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसीलगायतले सातै प्रदेशमा रूपान्तरण भेला गरी सुझाव केन्द्रीय कार्यालयमा बुझाइसकेका छन्।