नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रूपा विकले भ्रातृ संस्था विस्तार गर्दा पार्टीले समन्वय नगरेको बताएकी छन्।
केन्द्रीय सदस्य, सांसद तथा जिल्ला पार्टीसँग पनि सल्लाह नगरी केन्द्रबाट नेपाल तरूण दल र नेपाल महिला संघ विस्तार गरिएको उनको भनाइ छ।
‘महिला संघ, तरूण दल विस्तार गर्दा केन्द्रीय सदस्य र सांसदलाई खबर गरिएन,’ बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भनिन्, ‘को कोसँग बुझेर बनाइयो? काम गरेका साथीहरूलाई बनाइएन। यसले नैराश्यता ल्याएको छ।’
उनले महामन्त्री गगन थापाले पेश गरेको वार्षिक कार्यतालिका लागु हुन सकेमा नेपालीहरूले खोजेकोजस्तो पार्टी कांग्रेस बन्ने दाबीसमेत गरेकी थिइन्।
उनले नेपाल दलित संघलगायत भ्रातृ संस्थाका अधिवेशन तत्काल गरिनुपर्ने पनि बताइन्।