नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीले केन्द्रीय सदस्यहरूलाई काम दिन नसकेको बताएका छन्।
पार्टीका कामकारबाही सञ्चारमाध्यमबाट थाहा हुने गरेको उनले बताए।
‘कांग्रेस आन्तरिक रूपमा अलमलमा परेको छ। सानातिना सुधार र टालटुलेबाट कांग्रेस पुरानो अवस्थामा फर्किन गाह्रो छ,’ बुधबारको केन्द्रीय समितिमा बोल्दै उनले भने।
उनले जगैदेखि पार्टीलाई बलियो बनाउनुपर्ने बताए।
‘रूखको टुप्पोमा पानी हालेर हुँदैन, रूख मर्छ। जरोमै पानी राख्नुपर्छ,’ उनले भने, ‘बिपी कोइरालाले किसानका घरमा एक हल गोरू भन्नुहुन्थ्यो। तर आज गोरू नचाहिने अवस्थामा किसानका घरमा साना ट्याक्टर छन् कि छैनन्? कसले हेर्ने? त्यो हेर्नुपर्ने कांग्रेसले हो।’
उनले भ्रातृ संस्था मापदण्डमा केन्द्रित रहेर विस्तार गरिनुपर्नेमा जोड दिए।
‘पार्टीले केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिनुभएको छ? केही जिम्मेवारी दिनुभएन। मिडियाबाट कांग्रेसका कामकारबाही थाहा हुन्छ,’ उनले भने, ‘कांग्रेसले बैठक लाइभ गर्यो। अरू पार्टी पनि अब बाध्य भएर लाइभ गर्नुपर्ने अवस्थामा पुगेका छन्।’