नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले कांग्रेससहित ठूला दलप्रति वितृष्णा बढ्दै गएको बताएका छन्।
ठूला दलप्रति वितृष्णा बढ्नुको कारण खोजी गर्नुपर्ने उनले बताए।
‘जनताका बीचमा कांग्रेस मात्र होइन, मुलुकका ठूला पार्टीमा वितृष्णा बढेको छ,’ बुधबारको केन्द्रीय समितिमा बोल्दै उनले भने, ‘यसको कारणको बारेमा केन्द्रीय समितिमा गम्भीर भएर छलफल गर्न जरूरी छ।’
सुशासन दिन नसक्दा, भ्रष्टाचार र बेथितीले ठूला दलप्रति जनताको वितृष्णा रहेको आफूलाई लागेको पनि उनले उल्लेख गरेका छन्। ‘पहिले पार्टीभित्रै सुशासन कायम गरौं,’ उनले भने, ‘अनि मात्र जनताका बीचमा हामी सुशासनका कुरा गर्न सक्छौं।’
उनले उपसभापति र महामन्त्रीहरू जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। ‘हामी जिम्मेवार नहुँदा कार्यकर्तामा जे बोले पनि हुने रहेछ भन्ने प्रवृत्ति छ,’ उनले भने, ‘गलत समाचार नै पहिले कांग्रेस कार्यकर्ता सेयर गर्छन्।’
उनले चुनावमा कसैसँग पनि तालमेल गर्न नहुने बताए। ‘हाम्रो चुनावी गठबन्धन तेल र पानी मिलेजस्तो थ्यो,’ उनले भने, ‘त्यसैले हाम्रो भोट घट्यो।’
उनले महामन्त्रीहरूले ल्याएको कार्यतालिका चित्रमा राम्रो भए पनि चरित्र हेर्न बाँकी रहेको बताए। उनले शीर्ष नेतालाई पारदर्शी भएर आउन आग्रह गरेका थिए।