नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफूमाथि केन्द्रीय समितिकै हलमा जिम्मेवार नेताले बुलिङ (दादागिरी) देखाएको बताएका छन्।
बिहीबारको केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्दै उनले बुलिङ बन्द होस् भन्ने माग राखेका छन्।
‘वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै सार्वजनिक सञ्चार माध्यममा व्यक्त धारणाका विषयमा पार्टीकै जिम्मेवार व्यक्तिले केन्द्रीय समितिको यसै हलमा बुलिङ गर्नु गैर लोकतान्त्रिक हो,’ शिवाकोटीले भने।
साउन ३ गते सानेपास्थित केन्द्रीय कार्यालयमै केन्द्रीय सदस्य आरजु राणा देउवाले आफूविरूद्ध सञ्चार माध्ययमा अभिव्यक्ति दिएको भन्दै शिवाकोटीलाई 'धम्की' दिएको आरोप थियो।
यसप्रति लक्षित गर्दै शिवाकोटीले केन्द्रीय समितिमै यस्तो कार्य कोही कसैमाथि नदोहोरियोस् भनेका छन्।
‘पार्टी अनुशासन, अग्रजको सम्मान र सम्बन्धको सीमालाई समेत मध्यनजर गर्दै यस्ता कार्यमा नलाग्न सम्बन्धित आदरणीयमा आग्रह गर्दछु,’ उनले भने।