नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले थुनामा रहेका बालकृष्ण खाणलाई अन्याय भयो भन्ने हो भने पार्टी सरकारबाट हट्नुपर्ने बताएका छन्।
कुनै पनि प्रकृतिको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न नसक्ने उनले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाणलाई कांग्रेसले निलम्बन गरेको छैन। जारी केन्द्रीय समिति बैठकमा खाणको बचाउ र विरोधमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
‘बाघले खाए खाओस् तर कुनै पनि स्वरूपको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन,’ बिहीबारको केन्द्रीय समिति बैठकमा शिवाकोटीले भने, ‘अहिले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी छ। केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा यो सरकारले थुनामा राखेको छ।’
उनले यो प्रकरणमा पार्टीको द्विविधा अचम्मकै भएको बताए।
‘सभापतिज्यू यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ। खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्यो। होइन आफ्नै भने साथीहरू सम्मिलित सरकारले थुनामा पठाउँदा उहाँलाई निलम्बन गर्नुपर्छ,’ उनले भने।
उनले साथी (खाण) वा सरकार के रोज्ने केन्द्रीय समितिले टुंगो लगाउनुपर्ने बताए।